काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का तथा लुम्बिनी , मधेश र कोशी प्रदेशका केही र बाँकी भू-भागको थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने साथै लुम्बिनी र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू-भागको थोरै स्थानहरूमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस रहेको थियो ।
४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानमा सिमरा (४०.३ डिग्री सेल्सियस), विराटनगर (४०.२ डिग्री सेल्सियस) तथा धरान (४० डिग्री सेल्सियस) रहेका छन् ।
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ। ती भू-भागहरूमा वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ।