भीमफेदीमा उज्यालो नेपाल पार्टीको टोल भेला, स्थानीयसँग ‘उज्यालो संवाद’

Image

हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा उज्यालो नेपाल पार्टीले टोल भेला तथा स्थानीय नागरिकसँग ‘उज्यालो संवाद’ कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी छाडेर हालै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका नेता लोकबहादुर घिसिङले आम नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान गरे।
उनले नेपाली माटो सुहाउँदो स्पष्ट कार्यक्रम पार्टीसँग रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन सक्ने ठोस आधार उज्यालो नेपाल पार्टीसँग रहेको दाबी गरे। पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा जल, जमिन, जंगल र जडीबुटीको व्यावसायिक उपयोग, उत्पादन, बिक्री वितरण तथा बजारीकरणमार्फत नेपाली जनतालाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो।

त्यस्तै, उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका अध्यक्ष आशिष असलामीले समृद्धि, सुशासन र सामाजिक न्यायका लागि पार्टी गठन भएको बताए। उनले उज्यालो नेपाल पार्टीले मुलुकलाई वास्तविक समृद्धि र निकास दिन सक्ने विश्वास व्यक्त गरे।
विशेष अभियानका रूपमा आयोजित कार्यक्रममा नयाँ सदस्यहरूलाई सदस्यता वितरण गर्नुका साथै टोल कमिटी गठन गरिएको थियो। कार्यक्रममा पार्टीको नीति, विचार र भावी कार्यक्रमबारे स्थानीय नागरिकलाई जानकारी गराइएको थियो।

कार्यक्रममा पार्टीका कोषाध्यक्ष योगेन घलानसहित नेताहरू मानव तामाङ, राजीव तामाङ, विजय थिङलगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।