हेटौँडा । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पश्चिमी मुलुकले देशमा धर्म परिवर्तनको डढेंलो लगाउन खोजेको बताएका छन।
अध्यक्ष थापाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न विदेशीहरुले लगानी गरेको आरोप लगाएका छन। शुक्रवार आज बिहान दस बजे हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले कतिपय गैरसरकारी संस्था साथै सञ्चारमाध्यमहरु समेत विदेशीको आर्थिक सहयोग लिएर धर्म संस्कृृतिलाई कमजोर बनाउने खेलमा लागेको जिकिर गरेका छन। संविधानमा नै धर्म संस्कृतिको रक्षा गर्नु सरकारको कर्तव्य भएको उल्लेख गरिएता पनि खुलेआम तरिकाले धर्म परिवर्तनको गतिविधि हुँदा पनि सरकार मौन भएर बस्नु आश्चर्यजनक भएको अध्यक्ष थापाको भनाई रहेको थियो । थापाले हाल धर्म परिवर्तनको लागि भएको लगानीको विषयमा सरकारलाई सत्यतथ्य छानबीन गरेर बाहिर ल्याउन पर्ने माग गरेका छन्।
अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्र भ्रष्ट तन्त्र र तस्करी तन्त्रमा रुपान्तरित भएको टिप्पणी गरेका छन। राजा सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र नै अहिलेको व्यवस्थाको विकल्प भएको भनाई रहेको थियो । अध्यक्ष थापाले सुशासनको माध्यमबाटै राष्ट्रको आर्थिक समृद्धि हुन सक्ने जिकिर गर्नुका साथै वर्तमान व्यवस्थाको विकल्पको लागि सदन देखि सडक सम्म जनआन्दोलन गर्नुपर्ने भनाई रहेको छ । अध्यक्ष थापाले समान विचारधारा भएका दलहरुले मोर्चाबन्दी गरेर मात्र भ्रष्ट व्यवस्थाको अन्त्य हुने बताएका छन।
साथै अध्यक्ष थापाले आफुहरुको एक्लो प्रयासले मात्र हेटौंडालाई प्रदेशको राजधानी तोकिएको दाबी समेत गरेका छन। राजधानी भएको ६ वर्ष हुँदा समेत हेटौंडा–काठमाडौं जोड्ने सडक निर्माण हुन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै हेटौंडामा अझै पनि राजधानी सुहाउँदो संरचनाहरु बनाउन प्रदेश सरकार र स्थानीय सरकारले ध्यान नदिएको समेत अध्यक्ष थापाले उल्लेख गरेका छन।
















