आज नेपालले माल्दिभ्सको सामना गर्दै, यस्तो छ दुवै टोलीबीचको विगत

Image

काठमाडौं ।

साफ यू-२० पुरुष च्याम्पियनसिप आजबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । खेल आज कालिङ्गा स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

साफ यू–२० मा नेपाल र माल्दिभ्सले दोस्रोपटक एकअर्काको सामना गर्दैछन् । यसअघि भएका दुई भेटमा एक खेल नेपालले जित्दा एक म्याच बराबरीमा सकिएको थियो । पाँच अगस्टसम्म चल्ने प्रतियोगितामा नेपाल, माल्दिभ्ससहित आयोजक भारत, माल्दिभ्स र बंगलादेशको सहभागिता रहेको छ ।

साफ यू–२० को इतिहास?

साफ यू–२० नाममा पहिलोपटक आयोजना हुन लागेको भएपनि यस प्रतियोगिताको सुरुवात सन् २०१५ मा भएको थियो । २०१५ मा साफ यू–१९ को नामबाट सुरुवात भएको यस प्रतियोगिता चौथो संकरणसम्म आइपुग्दा साफ यू–२० मा रूपान्तरण भएको हो । २०१७ र २०१९ मा यसलाई साफ यू–१८ को नामबाट आयोजना गरिएको थियो । हालसम्म यसको तीन संस्करण समापन भइसक्दा नेपालले दुई तथा भारतले एक उपाधि हात पारेका छन् ।

यस्तो छ साफ यू–२० नेपाल र माल्दिभ्सको प्रदर्शन

सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संकरणको उपाधि नेपालले जित्यो । उसले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तालाई ३–२ ले पराजित गरेको थियो ।

सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्न सफल भयो । सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरेको थियो । बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थनमा रहँदै विजेता बनेको हो ।

सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भारतले उचाल्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो । अघिल्लो दुई संस्करणको विजेता नेपालले भने घरेलु भूमिमै समूह चरण पार गर्न सकेन ।

समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्‍यो । पहिलो संस्करणमा समूह ‘बी’ का दुवै खेलमा हार बेहोरेको माल्दिभ्सले समूह चरण पार गर्न सकेन । ऊ अफगानिस्तासँग ३–१ र भातसँग ३–० ले पराजित भएको थियो ।

सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो संस्करणमा पनि माल्दिभ्स बिना जित अन्तिम रहेर बाहिरियो । माल्दिभ्स भुटानसँग १–०, नेपाल र बंगलादेशसँग समान २–० तथा भारतसँग २–१ ले पराजित भएको थियो । अघिल्ला दुई संकरणमा जितविहीन हुँदै बाहिरिएको माल्दिभ्सले तेस्रो संस्करणमा भने तेस्रो स्थान हासिल गर्‍यो ।

भुटान गोलरहित तथा नेपालसँग समान १–१ को बराबरी खेल्दै समूह ‘ए’ को उप विजेतका रुपमा सेमिफाइनल पुगेको माल्दिभ्स भारतसँग ४–० ले पराजित हुँदै फाइनलमा स्थान बनाउन असफल रह्यो । माल्दिभ्सले तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो ।

यो पनि : माल्दिभ्ससंग खेल्नु अघि यस्तो भन्छन् कप्तान आयुष घलान

यो पनि : माल्दिभ्ससँग भिड्नुअघि यस्तो भन्छन् नेपालका प्रशिक्षक केसी

यो पनि : भारत पुगेर यस्तो भन्छन् नेपाली युवा टोलीका कप्तान आयुष घलान (भिडियो सहित)