काठमाडौं ।
सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले हार बेहोर्यो । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतविरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन ।
समूहमा यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालका लागि फाइनल यात्रा समेत कठिन बनेको छ। अन्तिम खेलअघि शीर्ष स्थानको बंगलादेशको ९ अंक छ। दोस्रो स्थानको भारत र तेस्रो स्थानको नेपालको ६–६ अंक छ। गोलअन्तरमा भने भारत अघि छ। भारतको गोलअन्तर ११ छ भने नेपालको –१ छ।
माल्दिभ्स र श्रीलंका भने फाइनल यात्राबाट बाहिर भइसकेको छन्। अब नेपालले अन्तिम खेलमा भोलि शीर्ष स्थानको बंगलादेशसँग खेल्नेछ। भारतले भोलि नै माल्दिभ्ससँग भिड्नेछ। बंगलादेशलाई फाइनल पुग्न बराबरी भए पुग्छ भने भारत र नेपालका लागि जित आवश्यक छ।
नेपालले जित निकालेको अवस्थामा पनि गोलअन्तरमा बंगलादेशलाई पछि पार्न पर्ने स्थिति छ। बंगलादेशको गोलअन्तर ५ छ। भारत पराजित वा बराबरीमा रोकिएको अवस्थामा भने नेपालले जित निकाले फाइनल पुग्न सक्छ।
भारतसँग नेपाल यू–२० टिम हारेपछि नेपाली फुटबल टिमका स्टार फरवार्ड विमल घर्तिमगरले प्रतिक्रिया दिएका छन्। उनले यो हार भोलिको जितको निम्ती शिक्षाको रूपमा लिएर अघि बढ्नुपपर्ने बताएका छन्।
सोमबार साँझ समाजिक सञ्जाल फेसबकमार्फत् उनले आगामी खेलहरूमा उत्कृष्ट शैलीमा फर्किएर विजय हासिल गरी आफूलाई फेरि गौरवान्वित बनाउनु हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन्। उनले आउँदो म्याचका लागि शुभकामना पनि दिएका छन्।
‘अभावबीचको लडाइँ र असुविधासहितको संघर्ष कस्तो हुन्छ हामी सबैमा अनुभव रहेको छ। विजय सधैं मिठो रहन्छ तर पराजयसंगै प्राप्त गर्ने अनुभव अझै अमूल्य रहन्छ। विषम परिस्थिति, अभाव तथा असुविधाका बाबजुद पनि तपाईंहरुले गर्नुभएको मेहेनतको निम्ती धन्यवाद छ टिम नेपाल यू–२०,’ विमलले भनेका छन्,‘ यो हार भोलिको जितको निम्ती शिक्षाको रूपमा लिएर हामीअघि बढ्नुपर्छ, आगामी खेलहरूमा उत्कृष्ट शैलीमा फर्किएर विजय हासिल गरी आफूलाई फेरि गौरवान्वित बनाउनु हुनेछ भन्ने विश्वास छ तपाईंहरुप्रति। हार्दिक शुभकामना टिम नेपाल यू–२०।’
प्रशिक्षक केसीले गरे बंगलादेशसँग खेल्नुअघि यति ठूलो घोषणा
यसैक्रममा नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्न नसकेमा आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन्। भारतसँगको हारपछि उनले खेलाडीहरू र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन्। उनले बंगलादेशसँगको खेलमा जित निकाल्न नसके आफैं राजीनामा दिने घोषणा गरेका हुन्।
‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा। खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ। सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ। खेलाडी र एन्फालाई दोष नदिउँ। यो मेरो गल्ती हो। मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ। अन्यथा म पद छोड्ने छु। म फुटबल जीवनबाट अलग हुनेछु। म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन्।
नेपालको हारपछि खेलाडीलाई थप हौसला दिदै यस्तो भन्छन् मुख्य प्रशिक्षक अलमुताईरी
भारतबिरुद्द नेपालको ८-० को लज्जास्पद हारपछी खेलाडीलाई हौसला दिदै मुख्य प्रसिक्षक अब्दुल्लाह अल्मुतैरी आफ्नो समजिक संजालमा पोस्ट गर्दै लेख्छन ” हामी आज हार्यौ, तर यो खेलको अन्त्य होइन, आजको खेल बिर्सनुहोस् र अब आउने अर्को खेलमा ध्यान केन्द्रित गरौं”।















