काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई पनि टी–२० विश्व कप खेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । नेपाली टोली अमेरिका पुगिसकेको छ । तर, दूतावासले भिसा दिन नमान्दा लामिछाने जान पाएका छैनन् ।
गत बुधबार अमेरिकी दुतावासले सन्दीपको पनि भिसा प्रक्रिया अस्वीकृत भएको थियो। अमेरिकी दूतावासले भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो।
दूतावासले सन्दीपलाई भिसा नदिएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगाएत क्यान सदस्यसहित, युवा तथा खेलकुद मन्त्रालयले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए।
कुटनीतिक रुपमा सरकारले पहल गरेसँगै सन्दीपले दोस्रो पटक भिसाका लागि आवेदन दिएका थिए। सोही प्रक्रिया अनुसार उनलाई आज बिहिबार अन्तवार्ताका लागि बोलाइएको थियो। तर आज पनि भिसा दिन फेरि अस्वीकार गरेको हो । सन्दीपलाई भिसा दिन बुधबार माइतीघरमा उनका समर्थकले प्रर्दशनसमेत गरेका थिए।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दूतावासबाट अस्वीकार यसअघि पनि भएको थियो । यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन ।
फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो।
निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो। तर, आज पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेपछी सन्दीपको टी-२० विश्वकपमा सहभागीता सम्भावना लगभग समाप्त भएको छ ।
लामिछानेले पुनरावेदन गर्दै गर्दा क्यानले मे २५ मा १५-सदस्यीय टोलीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो। तर लेगस्पिनर लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ खेलाडीको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।
क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भनेका थिए, “आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ खेलाडीको नाम मात्र बुझाएका छौँ। आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ।”
लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।
यो पनि : फेरि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछी यस्तो भन्छन् क्यानमा सदस्य दुर्गाराज पाठक
हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्। त्यस्तै ‘पार्टटाइम’ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।
क्यानले के गरेको थियो?
क्यानले अदालतको निर्णयबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरेको बताएको थियो।
क्यानका सचिव पारस खड्काले गत साता लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए। लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो। अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपाल पनि सहभागी हुन लागेको छ।
सन्दीप लामिछानेको मुद्दामा कहिले के भएको थियो?
२ जेठ, २०८१ः उच्च अदालत पाटनद्वारा सन्दीप लामिछानेलाई सफाइ, क्यानद्वारा निलम्बन फुकुवा
२५ पौष, २०८०: काठमाडौं जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना
१३ पौष, २०८०: काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर
११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
७ जेठ, २०८०: वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश
१६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
१८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा
२८ पौष, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
१४ कात्तिक, २०७९: काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता
२० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
२३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
२१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी