काठमाडौं । गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् ।
रेखाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ,’
रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् । करिब दुई हप्ताअघि अमेरिका निवासी बलराम शाही ठकुरीसँग थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको बताइन् । अब केही महिनामा औपचारिक रुपमा विवाह गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।
केही समयअघि एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिन सक्ने बताएकी थिइन् । कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् । निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन्तर्वार्ता विवाहको प्रश्नले पछ्याउने गरेको थियो ।