१३ शव बोकेर सर्लाही फर्किए परिवार, हेटौँडाले बन्यो दुःखको साथी

Image

हेटौँडा । भीमफेदी–६ चिसापानीगढी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टाका १३ जनाको शव हेटौँडाबाट सर्लाही पठाइएको छ।

शोकाकुल परिवारलाई घरसम्म पुग्न सहज होस् भनेर हेटौँडा उपमहानगरपालिकाले तीनवटा शववाहनको व्यवस्था गरेको हो। मेयर मीनाकुमारी लामाको पहलमा उपमहानगरको शववाहनसहित नारायणी यातायात र अर्को एक शववाहनमार्फत शव पठाइएको हो।

मेयर लामाले पीडित परिवारका आफन्तलाई घर पुर्‍याउन आफू चढ्दै आएको सरकारी गाडीसहित यातायातको व्यवस्था पनि मिलाएकी छन्। यसअघि उपमहानगरले हेटौँडामा रहेका ३७ जना आफन्तका लागि खाना र आवासको व्यवस्था गरेको थियो।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले दुःखको घडीमा हेटौँडा उपमहानगरले गरेको सहयोगले शोकाकुल परिवारलाई ठूलो राहत मिलेको बताए।